११४५ मा सम्पर्कका लागि अनुरोध
११४५ मा सम्पर्कका लागि अनुरोध
सम्पर्कका लागि अनुरोध
तिब्बततर्फबाट आएको पानीको अति उच्च बहाबका कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति राष्ट्रिय महिला आयोग गहिरो दुःख व्यक्त गर्दछ। त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने महानुभावहरू सुरक्षित स्थानमा रहनुहुन र सो को व्यवस्थापनका लागि सरकारी गैरसरकारी र सम्बन्धित निकायका साथै सम्पूर्णमा महिला आयोग सादर अनुरोध गर्दछ।
यस दुःखद् घडीमा प्रभावित सम्पूर्ण नागरिकप्रति आयोग गहिरो दु:ख व्यक्त गर्दै प्रभावित समुदाय, परिवार तथा व्यक्तिको शीघ्र खोज, उद्धार, र सुरक्षित आश्रय व्यवस्थाका लागि सम्बन्धित सबै निकायको प्रभावकारी समन्वय र सहकार्यको अपेक्षा गर्दछ।
राष्ट्रिय महिला आयोगमा महिला, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, उद्धार तथा आवश्यक सहयोगका लागि २४ घण्टा सञ्चालन हुने निःशुल्क टोल फ्री नं. ११४५ सेवा उपलब्ध रहेको जानकारी गराइन्छ।
उक्त बाढीबाट प्रभावित भई उद्धार, सुरक्षा वा अन्य कुनै प्रकारको सहयोग आवश्यक परेका महिला, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकहरूले टोल फ्री नं. ११४५ मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौं।
टोल फ्री नं. ११४५ मार्फत सम्पर्कमा आउनुहुने प्रभावित व्यक्तिहरूलाई आवश्यक सहायता तथा उद्धार उपलब्ध गराउन राष्ट्रिय महिला आयोगले सम्बन्धित सरकारी निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला संस्थाहरूसँग आवश्यक समन्वय, सहकार्य र सहजीकरण गर्नेछ।
यस विपद्को समयमा प्रभावित नागरिकको सुरक्षा, उद्धार तथा संरक्षणमा राष्ट्रिय महिला आयोग सदैव प्रतिबद्ध रहने व्यहोरा समेत जानकारी गराउँदछौं।
काली प्रसाद पराजुली
सचिव
राष्ट्रिय महिला आयोग
२०८३ भाद्र १० गते बुधबार